सद्भावना दूत धिरज राई

माघ, २८ काठमाडौं । गायक धिरज राई लुम्बिनी विकास कोषको सद्भावना दूतमा नियुक्त भएका छन् । कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले राईलाई लुम्बिनी विकास कोषको सद्भावना दूतमा नियुक्त गरेको हो ।

गौतम बुद्ध आफ्नो देशमा जन्मिएका हुन् भन्ने भारतको दाबी बिरुद्ध गायक राई लामो समयदेखि अभियान चलाउँदै आएका छन् । अभियान अन्तरगत उनले विश्वका दुई दर्जनभन्दा धेरै देशमा कार्यक्रम गरिसकेका छन् । नेपालमा पनि धिरजले अभियान अन्र्तगत थुप्रै कार्यक्रम गरिसकेका छन् ।

गायक राईले लुम्बिनी विकास कोषले जिम्मेवारी दिएसँगै आफ्नो जिम्मेवारी थप बढेको उल्लेख गर्दै छ अझै धेरै कार्यक्रम र अभियान चलाउने बताएका छन् ।

बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै उनले विमानस्थलमा होर्डिङबोर्ड राख्ने, फेवातालका डुङ्गामा बुद्ध वाज वोर्न इन नेपाल लेखेको स्टिकर टाँस्ने अभियान चलाइसकेका छन् ।

भारतले बुद्ध आफ्नो देशमा जन्मिएका हुन् भनेर पाठ्य पुस्तकमै उल्लेख गरेपछि त्यसलाई हटाउन लागि परेका धिरज अहिले नेपालका नोट (पैसा) र राहदानीमा बुद्धको तस्बिर राख्नु पर्ने माग गर्दै आएका छन् ।