सञ्चारमन्त्री भन्छन् – गच्छदार दोषी ठहरिए हाम्रो के लाग्छ ?

माघ २३, काठमाडौ –सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्य र प्रमाणका आधारमा मुद्दा दायर गरेको बताएका छन् ।

उनले जग्गा अनियमितता प्रकरणमा सम्बन्धित व्यक्तिको जिम्मेवारी र भूमिका हेरेर कसुरलाई तीन तहमा विभाजन गरी मुद्दा दायर गरिएको बताए ।

सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रीसमेत रहेका बाँस्कोटाले उक्त विषय अब अदालतमा पुगेको र अदालतको फैसला अनुसार नै सरकारले काम गर्ने बताए ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलका छोरालाई उन्मुक्ति दिएको तर कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई आरोपितका रुपमा मुद्दा दायर गरिएकोबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री बाँस्कोटाले तथ्य र प्रमाणको आधारमा नै मुद्दा दायर भएको बताए ।

‘दोषी ठहरिनु भयो भने हाम्रो के लाग्छ त बाबा ’ उनले भने, ‘अदालतले सफाइ दियो भने सक्किगो नि ।’ विधि र प्रक्रियालाई सबैले सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।