माघ २३, एजेन्सी –अमेरिका ५ महिनादेखि चल्दै आएको राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रकरण अन्त्य भएको छ।
अमेरिकी माथिल्लो सदन सिनेटले ट्रम्पले अधिकार दुरुपयोग नगरेको पक्षमा मत दिएसँगै यो प्रकरण समाप्त भएको हो। उनलाई राष्ट्रपतिबाट हटाउने अभियान पनि सकिएको छ।
ट्रम्पको पार्टी रिपब्लिकनको बहुमत रहेको सिनेटले ट्रम्प निर्दोष रहेको पक्षमा ५२ मत परेको थियो भने विपक्षमा ४८ मत परेको थियो।
यसैगरी कंग्रेसलाई अवरुद्ध गरेको अर्को अभियोगमा पनि ट्रम्पले सफाइ पाएका छन्। उनको पक्षमा ४७ का विरुद्ध ५३ मत परेको थियो। रिपब्लिकन पार्टीका सांसद मिट रोमनीले मात्र ट्रम्पको विपक्षमा मत दिएका थिए।
यसअघि डेमोक्रेट पार्टीको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले भने गत १८ डिसेम्बरमा ट्रम्पविरुद्धको महाअभियोग पारित भएको थियो।
ट्रम्पले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आइरहेका थिए। सिनेटको निर्णयपछि उनको चुनावी अभियानका तर्फबाट जारी वक्तव्यमा अब फेरि उनी अमेरिकी जनताको सेवामा लाग्ने उल्लेख गरिएको छ।
ट्रम्पले आफूमाथि लागेका महाअभियोगका आरोप र संसदको निर्णयबारे बिहीबार आफ्ना धारणा सार्वजनिक गर्नेछन्।