माघ २२, काठमाडौं – झापाको बुद्धशान्ति गाउँपालिका बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २९ वर्षीय दिल कुमार कामीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सोही गाउँपालिका- २ गोपलाडाँडा बस्ने कमल भन्ने कामीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै रुकुम आठबिसकोट नगरपालिका बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थानका २२ वर्षीय मोहन रावतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । रावतलाई अस्थायी प्रहरी पोष्ट स्यालाखदीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।