कोटगाउँ–रायखोर सडक निर्माणकार्य शुरु

माघ १५, काठमाडौं – म्याग्दीको रघुगङ्गा गाउँपालिका–६, कोटगाउँ–रायखोर सडक निर्माणकार्य शुरू भएको छ । गाउँपालिकाको गौरवको योजनाअन्तर्गत रु ५० लाखको लागतमा मङ्गलबारदेखि सडक विस्तार शुरु गरिएको हो ।

गाउँपालिकाको विकट पाखपानीको रायखोर मूलपानी, उल्लेरी क्षेत्र जोड्ने गरी सडक विस्तार शुरु भएको वडाध्यक्ष मनकुमार शेरपुञ्जा मगरले बताए। पहिलो चरणमा चार किलोमिटरसम्म सडक विस्तार हुने कोटगाउँ–रायखोर सडक निर्माण समितिले जनाएको छ ।

सडकखण्डलाई रायखोर हँुदै मुलपानी र वडा नं ८ को ध्याँसीखर्क मङ्गले जोड्ने चक्रपथ बनाउने उपभोक्ता समितिका अध्यक्ष रोशन शेरपुञ्जा मगरले बताए । उनका अनुसार सडक सञ्जाललाई नमूना बनाउने गरी गाउँपालिकाको सडक मापदण्डअनुसार नै सडक निर्माणको काम शुरु भएको छ ।

सडक विस्तारबाट वडा नं ६ र ८ का स्थानीय बासिन्दा लाभान्वित हुनेछन् । सोही सडकखण्डबाट पर्यटकीय तथा धार्मिकस्थल रिखार क्षेत्रसम्म पुग्न सकिने स्थानीयवासीको भनाइ छ ।

सडकखण्डमा कडा चट्टान भएकाले गाउँपालिकाको बजेटले अपुग हुने भएकाले गण्डकी प्रदेश र सङ्घीय सरकारसँग समेत बजेट माग गर्ने जनाइएको छ ।
गाउँपालिकालाई पाखापानी, बेगखोला र दग्नामबाट चक्रपथ बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

रासस