विप्लब समूहको गतिविधिले प्रतिबन्धलाई पुष्टि गरेको प्रवक्ता बाँस्कोटाको भनाई

माघ ३, काठमाडौं – विप्लब समूहले आतङ्ककारी शैलीमा क्रियाकलाप सञ्चालन गरेको ठहर गर्दै सरकारले ध्वंसात्मक गतिविधिप्रति राज्य सहनशील हुन नसक्ने प्रष्ट पारेको छ ।

सो समूहले बुधबार ढुङ्गेधारास्थित एक व्यक्तिको घरमा बम विस्फोट र बालुवाटारस्थित ललितानिवासको जग्गा कब्जाको घोषणा गरेको विषयलाई सरकारले आतङ्ककारी गतिविधिको संज्ञा दिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा विहिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यसअघि नै सो समूहको गतिविधिलाई सरकारले प्रतिबन्ध लगाइएको विषयलाई पछिल्ला घटनाक्रमले पुष्टि गरेको बताए ।

लुकेर गतिविधि गर्ने भएकाले हामीले पहिल्य नै भनेका हौँ, विप्लब समूहको गतिविधि आतङ्ककारी क्रियाकलाप हो”, उनले भने, “लुकेर, छिपेर हमला गर्ने गतिविधि आतङ्ककारी शैली हो, त्यसले उहाँहरुलाई राम्रो गर्दैन, त्यो राम्रो कुरा पनि होइन ।”

विप्लब समूहले गरेको ध्वंसात्मक गतिविधिप्रति खेद प्रकट गर्दै उनले कानूनी प्रक्रिया र विधिद्वारा समस्याको निरुपण गरिने बताए ।
ललितानिवासको जग्गा हिनामिना प्रकरणमा नेपाल सरकार आफैँले छानबिन चलाइरहेको उल्लेख गर्दै उनले सार्वजनिक चासो प्रकट भइरहेको विषयमा कुनै हल्ला फैलाएर शक्तिशाली देखिन विप्लब समूहले सो हर्कत गरेको बताए ।