आँधीका कारण अमेरिकामा ११ को मृत्यु

पुस २८, एजेन्सी – अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । आँधीसँगै हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनामा परी मृत्यु भएका मध्ये एक जना प्रहरी र एक जना उद्धारकर्ता समेत रहेका जनाइएको छ । टेक्सासको लुब्बुकमा शनिबार बिहान उनीहरुको मृत्यु भएको हो ।

त्यसैगरी ओक्लाहोमामा पनि बाढी र वर्षासँगै आँधी आएको थियो । त्यस क्षेत्रमा खटिएको गस्ती टोलीले शनिबार दिएको जानकारीअनुसार आँधीका कारण सवारी साधनहरु बाटोमै रोकिएका थिए ।

आँधीपछि टेक्सासदेखि ओहियोसम्मका हजारौँ घरहरुमा विद्युत सेवा अवरुद्ध भएकाले लाखौं मानिसहरु विद्युत सेवा विहीन अवस्थामा रहेका छन् । त्यसैगरी कतिपय राजमार्गहरु बन्द भएका छन् । विशेष गरेर ओक्लाहोमा र अर्कान्सासमा बाढी आएकाले बाटो बन्द भएका हुन् ।

शनिबार बिहानैदेखि आइतबार दिउँसोसम्मका सेवाहरु बन्द गरिएको उनीहरुले जानकारी दिएका छन् । शनिबार रातभरी र बिहानसम्म पनि वर्षा भएको उनीहरुले बताएका छन् ।