नौ महिनादेखि शिक्षकले तलब पाएनन्

पुष १८, काठमाडौ- कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ हल्दुखालमा अवस्थित महाकाली जनसेवा माध्यमिक विद्यालयका कर्मचारी र निजी स्रोतका शिक्षकले तलब पाउन सकेका छैनन् । विद्यालयले आर्थिक स्रोत जुटाउन नसक्दा उनीहरुले नौ महिनादेखिको तलब पाउन नसकेका हुन् ।

चार जना कर्मचारी, कक्षा ११, १२ का दुई जना शिक्षकले तलब पाउन नसकेका हुन् । विद्यालयमा कार्यरत शिक्षक शेरसिंह धाँमीले नौ महिनादेखिको तलब पाउन बाँकी रहेको बताए।

विद्यार्थीको सङ्ख्या थोरै हुदा उठ्ने शुल्कले विद्युत् महशुल, फर्निचर मर्मत, मसलन्द खरिद गर्नकै लागि पुग्दैन विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीले भने, “त्यसैले कर्मचारी र शिक्षकको पूरै तलब भुक्तान गर्न सकेका छैनौँ ।”
विद्यालयको घाटापूर्ति नहँुदा अन्यौलता बढेको छ उनले भने, “विद्यालय सञ्चालन गर्न निकै समस्या छ । पढाई प्रभावित नभए पनि तलब नपाउँदा शिक्षकको मानसिकरुपमा असर हुदा पढाइको गुणस्तरमा प्रभाव पर्नु स्वभाविक नै हो ।”
विसं २०२९ मा विद्यालय स्थापना थियो । रासस
–––