पुस १७, एजेन्सी – म्यान्मा (बर्मा) को राजधानी याङ्गुनस्थित स्वेडागन प्यागोडामा बुधबार दीप प्रज्वलन गरी नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिएको छ । स्वेडागन प्यागोडा बर्माको सबैभन्दा प्रसिद्ध धार्मिकस्थल हो । यहाँ दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक भ्रमण, ध्यान र पूजा अर्चनाका लागि पुग्छन् ।
म्यान्माका लागि नेपालका राजदूत भीमकृष्ण उदास र याङ्गुनका मुख्यमन्त्री फ्योमिन थेंले संयुक्तरूपमा दीप प्रज्वलन गर्नुभएको थियो । सो अवसरमा नेपाली मूलका बर्मेलीहरू र नेपालबाट बर्मा आएर काम गरिरहेकाहरुको उपस्थिति थियो । भ्रमण वर्ष प्रचार कार्यक्रममा उपस्थित भएकाहरूलाई नेपाली दूतावासले ‘नेपाल भ्रमण वर्ष २०२०’ लेखिएको टिसर्ट वितरण गरेको थियो ।
कार्यक्रममा राजदूत उदासले म्यान्मा र नेपालको दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष र नेपाल भ्रमण वर्ष २०२० एकै साल परेकाले यो वर्षभरि नै म्यान्मामा विभिन्न कार्यक्रम गरी नेपालको प्रचारप्रसार गरिने जानकारी दिनुभयो । उहाँले भगवान् गौतम बुद्धको कपाल भएको स्वेडागन प्यागोडाबाट अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन भ्रमण वर्षको प्रचारप्रसार गर्न पाउँदा खुशी लागेको बताए ।
करिब साढे पाँच करोड जनसङ्ख्या भएको बर्मामा ९० प्रतिशत बौद्धमार्गी छन् । म्यानमारका पर्यटनमन्त्री यु उन मुङ नेपाल भ्रमण वर्षको उपलक्ष्यमा अहिले नेपाल आइपुगेका छन् ।