उखु किसानलाई भुक्तानी नदिने उद्योगीमाथि कारवाही माग

पुस १४, काठमाडौं – राष्ट्रियसभाको आजको बैठकमा सांसदले उखु किसानको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा उनीहरुले उखु किसानलाई मजदूर बनाउन बाध्य पार्ने उद्योगीलाई तत्काल कारवाहीको दायरामा ल्याउन माग गरे ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कोमल वलीले १५ दिनभित्र उखु किसानको बक्यौता भुक्तानीका लागि उद्योगीलाई तत्काल निर्देशन दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराइन् ।

उखु किसानको बक्यौता भुक्तानी दिन विगतमा सरकारले दिएको निर्देशन उद्योगीले नटेरेको भन्दै उहाँले किसानको उत्पादन लिने तर भुक्तानी नदिने उद्योगीको नियतले किसान डुब्ने अवस्थामा पुगेको बताए ।

सांसद् ओलीले भनिन् “तुरुन्त किसानलाई भुक्तानी दिनुपर्ने व्यवस्था मिलाइदिनुप¥यो । किसानलाई उखुको भुक्तानी नदिनु अन्याय हो । पन्ध्र दिनभित्र किसानको भुक्तानी नदिए उद्योगीलाई कारवाही गरियोस् ।”

राष्ट्रिय जनता पार्टीका वृषेशचन्द्र लालले उखु किसान सत्याग्रह गर्न काठमाडौँ आएको बताउँदै ‘यो देश किसानको हो कि होइन’ भन्दै प्रश्न गरे । “यदि यो सरकार किसानको हो भने किसानले खेती गर्छ, उत्पादन गर्छ तर किन मूल्य पाउँदैन ?” उनले भने “किसान कसरी बाँच्छ, अहिले किसान मजदूर बन्न बाध्य भएका छन् । के सरकारले मजदूरको सङ्ख्या वृद्धि गर्न खोजेको हो ?”

महालक्ष्मी सुगर मिल्स, श्रीराम सुगर मिल्स, एभरेष्ट सुगर मिल, हिमालयन सुगर मिल, वाग्मती, अन्नपूर्णलगायत चिनी उद्योगले किसानलाई ठूलो मात्रामा उखुको भुक्तानी दिन बाँकी छ ।

उखु किसान उद्योगीले बक्यौता नदिएको भन्दै सरकारलाई दवाव दिन किसानहरु अहिले काठमाडौँ आएका छन् । सर्लाहीका उखु किसानले एक सातादेखि उखुको मूल्य माग्दै माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएका छन् ।