भदौ १, भक्तपुर – भक्तपुरमा डेङ्गुका बिरामी फेला परेको छ । तराईमा मात्र देखिने डेङ्गुका बिरामी भक्तपुरमा भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ । रामेछाप घर भई परिवारसँग भक्तपुरको बालकोट गाविस–५ मा बस्दै आएका वर्ष १५ को अर्जुन कार्कीको स्वास्थ्य परीक्षणका क्रममा डेङ्गु भेटिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत राजेश ठाकुरले जानकारी दिए । बिरामीको अहिले उपचार भइरहेको छ । डेङ्गुका बिरामी देखापरेपछि यसबाट बच्न भक्तपुर नगरपालिका र गाविसमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको ठाकुरले बताए । भक्तपुर अस्पतालमा डेङ्गु परीक्षणका लागि निःशुल्क टेष्ट किट राखिएको उहाँले जानकारी दिए ।