पिपिएलको उपाधि चितवनलाई

पुस १३, काठमाडौं – चितवन राइनोजले दोस्रो पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटको उपाधि जितेको छ।

विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि हात पारेको हो । २ सय ३ रनको लक्ष्य पछ्याएको विराटनगरले पूरा २० ओभरमा ७ विकेट जाँदा १ सय ७० रन मात्र बनाएको हो ।

पहिलो विकेट ११ रनमा गुमाउँदा सुनिल धमला ४ रन बनाएर आउट भएका थिए । १६ रन हुँदा लोकेश बमलाई विराटनगरले दोस्रो विकेटका रुपमा गुमाउन पुग्यो । लोकश ४ रनमा पेभेलियन फर्किए ।

यसैगरी पुनित मेहरा ३२ रन बनाएर आउट भए भने १८.४ ओभरसम्म क्रिजमा रहेका कप्तान प्रदीप ऐरीले ३६ रन बनाए पनि हार भने टार्न सकेनन् । छैटौं विकेटको रुपमा दिलिप नाथ खाता नै नखोलि आउट भए ।

पारस खड्काको कप्तानीमा खेलेको चितवनले उपाधिसँगै नगद २७ लाख रुपैयाँ हात पार्दा उप विजेता भएको विराटनगर टाइटन्सले १० लाख रुपैयाँमा चित्त बुझायो ।