जनगणनामा ५४ हजार ४१३ जनशक्ति परिचालन हुने

पुस १३, काठमाडौं –केन्द्रीय तथ्याङ्क विभागले ‘राष्ट्रिय जनगणना २०७८’ को महाअभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको छ ।
जनगणनाको तयारी र अगामी योजना विषयमा शनिबार आयोजित कार्यक्रममा विभागका निर्देशक ढुण्डीराज लामिछानेले गणनामा तथ्यगत, विश्वसनीय र भरपर्दो तथ्याङ्क सङ्कलनमा सबैको महत्वपूर्ण भूमिका रहने बताए।

’राष्ट्रिय जनगणनाबाट प्राप्त तथ्याङ्क नै देशको मूल तथ्याङ्क हो’, उनले भने, ’यही वास्तविक तथ्याङ्कलाई मूल आधार बनाएर सरकारले राष्ट्रिय नीति र विकास निर्माणमा योजना बनाउने हो।’

विभागले ‘मेरो गणना, मेरो सहभागिता’ नारा तयगरी आगामी माघ १ गतेदेखि चैत्र मसान्तसम्म नमूना जनगणना सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले विभागलाई स्पष्ट कार्य्विधि बनाएर अघि बढ्न सुझाए। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले पत्रकारहरुले जनगणनालाई सहयोग पुग्नेगरी समाचार प्रवाह गर्न आग्रह गरे।

कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले यौनिक अल्पसङ्ख्यक र राउटेहरुको वास्तविक तथ्याङ्क सङ्कलनमा ध्यान दिन आग्रह गरे। विभागले ‘राष्ट्रिय जनगणना २०७८’ मा बेरोजगार युवाहरुलाई गणक बनाउन प्राथमिकता दिने भएको छ। गणनामा ५४ हजार ४१३ जनशक्ति परिचालन हुने र ४३ हजार २७७ गणकको मात्र सङ्ख्या हुनेछ ।