खेलकूद परिषद् १४औँ सागको तयारी गर्दै’

पुस १०, काठमाडौं – राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले नेपाललाई दक्षिण एशियाली राष्ट्रमा खेलकूदको ‘पावरहाउस’ का रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) कास्कीद्वारा आयोजित ‘१३औँ हिसान कास्की स्पोर्टस मिट–२०७६’ मा उहाँले मुलुक अहिले १४औँ सागको तयारीमा जुटिरहेको जानकारी दिए ।

हिसानका केन्द्रीय अध्यक्षसमेत रहनुभएका सदस्यसचिव सिलवालले अब खेलाडीलाई नियमित प्रशिक्षण गर्दै उनीहरुको सम्मान र आत्मबल बढाउनेतर्फ परिषद्ले ध्यान दिने बताए ।

पोखरालाई गण्डकी प्रदेशकै खेलकूद ‘हब’का रूपमा विकास गर्न परिषद्ले आफ्नो तयारी थालेको बताउँदै सदस्यसचिव सिलवालले तीन महिनाभित्र पोखराको मुहार नै फेर्नेगरी २० हजार क्षमताको फुटबल रङ्गशाला तयार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विसं २०६४ देखि हरेक वर्ष कास्कीमा सञ्चालन हुँदै आएको हिसान कास्की स्पोर्टस् मिट २०७६ मा मावि तह छात्र भलिबलमा २९ टिम, छात्रा भलिबलमा १५ टिम, बास्केटबल मावि तह छात्रतर्फ ३३ टिम, छात्रातर्फ १७ टिम र विश्वविद्यालय बास्केटबलतर्फ छ टिमको सहभागिता रहेको छ ।

त्यसैगरी छात्र टेनिस मावि सिङ्गल्समा ७२, छात्रा सिङ्गल्समा ३८, छात्र डबल्समा ३४ टिम, छात्रा डबल्समा १३ टिमको सहभागिता रहेको छ । संस्थामा आबद्ध ६८ विद्यालयमध्ये ५३ विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका छन् ।