विप्लवद्धारा अपहरित गाउँपालिका अध्यक्ष शाही कालिकोटबाट मुक्त

पुस ७, काठमाडौं – दैलेख ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त भएका छन्। शनिबार राति नेत्रविक्रम चन्द विप्लव समूहले अपहरण गरेका अध्यक्ष शाही आइतबार साँझ साढे ६.३० बजे प्रहरीले अपहरणमुक्त गरेको हो ।

विप्वल समूहले अध्यक्ष शाहीलाई कालीकोटको शुभकालिकाको छाती गाउँबाट अपहरणमुक्त गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दैलेख र कालिकोटको सीमावर्ती शुभकालिका गाउँपालिकाको खाती जंगलबाट अध्यक्ष शाहीलाई प्रहरीले अपहरणमुक्त गराएको हो।

यसअघि विप्लव नेकपाले विज्ञप्ति जारी गर्दै अध्यक्ष शाहीको अपहरणको जिम्मेवारी विप्लव समूहले लिएको थियो । विप्लव समूहका भेरी कर्णाली ब्युरो इञ्चार्ज रविले प्रेस विज्ञप्ति जारी गर्दै अपहरणको जिम्मेवारी लिएका थिए ।