पुस ४, काठमाडौं – काठमाडौँ महानगरपालिकामा अन्तरराष्ट्रिय गुणस्तर र सुविधायुक्त सार्वजनिक शौचालय निर्माण गर्नका लागि आवासीय नेपाली सङ्घले अध्ययन गरेको छ ।
पहिलो चरणमा कलङ्की, बालाजु, राष्ट्रपति कार्यालय अगाडि, जयवागेश्वरी सिफल चौर, कोटेश्वर र स्वयम्भू परिक्रमा मार्गको अध्ययन सकिएको छ ।
स्थानको पहिचान र आवश्यकता हेरी अन्यत्र पनि अध्ययन गर्ने बताइएको छ । विगत पाँच वर्षदेखि सार्वजनिक शौचालय निर्माणको प्रक्रियामा महानगरपालिका रहेको भए पनि हालसम्म काम अघि बढ्न सकेको छैन ।
महानगरको शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले शौचालय निर्माण र यसको दिगो सञ्चालन कसरी गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिई निर्माणकार्य अघि बढाइने जानकारी दिए ।
एउटाले शौचालय बनाउने अर्कोले चलाउने कुरालाई महानगरले अब स्वीकार नगर्ने जानकारी गराउँदै उपाध्यक्ष बस्नेतले भने “शौचालय निर्माण गर्दा त्यहाँ उपलब्ध हुने सुविधा र त्यहाँबाट उत्पादन भएको तरल फोहर व्यवस्थापनको पूर्ण योजना भएपछि मात्र काम अगाडि बढाउन मिल्छ ।”