विमानस्थलमा चरा धपाउन एम्बुलेन्सको प्रयोग

भदौ १, विराटनगर –  शनिबार दिउँसो डेढ बजे बिराटनगर विमानस्थलको रनवेमा एउटा एम्बुलेन्स साइरन बजाउँदै तीब्र गतिमा दौडियो । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न विशिष्ट कक्षबाहिर बसेका कांग्रेस कार्यकर्ताले मुखामुख गरे । ठूलै आपत आइपरेको हो कि भनी उनीहरु अड्कल गर्दै थिए । तर एकै छिनमा थाहा भयो, त्यो एम्बुलेन्स बिरामी बोक्न वा घाइते लिन नभएर विमानस्थलमा चरा धपाउन दौडिएको पो रहेछ ।

कांग्रेस सभासद् तथा पार्टी मोरङ अध्यक्ष अमृत अर्यालले भने, ‘साइरन बजाउँदै एम्बुलेन्स त चरा धपाउन पो दौडिएको रहेछ’  अन्नपूर्ण पोस्टमा खबर छ । विराटनगर विमानस्थलमा नागरिक उड्डयन प्राविधकरणको एउटा एम्बुलेन्स चरा धपाउन सधैं त्यहाँ तैनाथ हुन्छ । हवाईजहाज उड्नु र अवतरण गर्नुअघि एम्बुलेन्सलाई तीब्र गतिमा दौडाएर रनवेतर्फ लगिन्छ । त्यसलगत्तै जहाज अवतरण र उडान गर्छ । विमानस्थलमा बारम्बार चरा ठोक्किएर क्षति हुने र दुर्घटनाको सम्भावना बढेपछि उड्डयन प्राधिकरणले चरा धपाउनकै लागि एउटा एम्बुलेन्स ढुक्कैसँग परिचालन गरेको हो ।

उड्डयन कार्यालयका प्रमुख टेकराज पोख्रेलले भने, ‘तत्कालै विमास्थलमाथि उड्ने ठूला चरा धपाउन एम्बुलेन्स दौडाउने गरिएको छ । साइरनको आवाजले चरा परपर भाग्छन्,’ केही समयपहिले मात्र नेपाल एअरलाइन्सको विमानको पंखामा चिल ठोक्किदा विमान एक साताभन्दा लामो समय ग्राउन्डेड भएको थियो । त्यसपछि प्राधिकरणले एम्बुलेन्सबाट चरा धपाउने उपाय निकालेको हो ।