एक वर्षपछि पछि आज नेकपा स्थायी समिति बैठक बस्दै

मंसिर २९,काठमाडौं – सत्तारूढ नेकपा स्थायी समिति बैठक एक वर्षपछि आइतबार (आज) बस्दैछ । पार्टी विधान अनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नुपर्छ तर यसअघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन।

एक वर्षबीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन, राजनीतिक प्रतिवेदन अनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गराउन र पार्टी कामको ६ महिने कार्ययोजना पारित गराउन स्थायी समिति बैठक बस्न लागेको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी समिति अगाडि सचिवालय बैठक बस्नेछ। सचिवालयले स्थायी समिति बैठकमा छलफलका लागि लैजाने एजेन्डा तय गर्नेछ। मंसिर २३ मा बसेको नेकपा सचिवालयले २९ गतेका लागि स्थायी समिति बैठक तोकेको थियो।

मंसिर २७ मा सचिवालय बैठक बस्ने भनिए पनि अध्यक्ष पुष्पकमल दाहालले बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव तयार पार्न ढिलाइ भएका कारण बैठक सर्दै आएको थियो । अध्यक्ष दाहालले आफूले तयार पारेको राजनीतिक प्रतिवेदनका विषयमा शनिबार अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए।