विमानस्थल मुआब्जा वितरण प्रभावित

मंसिर २७, काठमाडौं – बारामा निर्माण हुन लागेको दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको काम सर्वोच्च अदालतले रोक लगाएपछि मुआब्जा वितरणको काम प्रभावित हुने भएको छ ।

दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका लागि करीब ११ हजार ८७५ बिघा अर्थात आठ हजार ४५ हेक्टर क्षेत्रफल जमीन छुट्याइएको छ । सो मध्ये करीब ११० बिघा निजी जमीनको मुआब्जा दिनु पर्नेछ । तर सर्वोच्च अदालतले निर्माण कार्यमा रोक लगाएपछि मुआब्जा वितरणको काम प्रभावित हुने भएको हो ।

अहिलेसम्म करिब साढे ६५ बिघा जग्गाको मुआब्जा वितरण भइसकेको दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण परियोजनाले जनाएको छ ।विभिन्न तीन चरणमा ६५ बिघा ९ कठ्ठा ८ धुर जग्गाको मुआब्जा वितरण गरिएको दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण परियोजनाका निमित्त प्रमुख विजय यादवले बताए ।

मुख्य सडकसँग जोडिएको जग्गाको प्रतिकठ्ठा चार लाख ६० हजार, भित्री सडकखण्डसँग जोडिएको जग्गाको प्रतिकठ्ठा दुई लाख ४९ हजार २५० र बाटो नभएका जग्गाको प्रतिकठ्ठा दुई लाख चार हजार १५० का दरले मुआब्जा वितरण गरिएको परियोजनाले जनाएको छ ।

जङ्गलको बीचबाट मुख्य सडकसम्म आउने शाखा सडकको दुवैतर्फ घेराबेरा परियोजना गरेको छ । पूर्वमा लालबकैया खोलादेखि पश्चिममा पसाहा खोलासम्म र उत्तरमा महेन्द्र राजमार्गदेखि पश्चिममा दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको जग्गाको सिमानासम्मको पहिचान हुनेगरी काम भइसकेको परियोजनाका निमित्त परियोजना प्रमुख यादवले बताए ।

आयोजनाको धावनमार्ग निर्माण हुने स्थानमा रहेको टाँगियाबस्ती स्थानान्तरणका लागि वैकल्पिक स्थानको पहिचान र अध्ययन भइसकेको परियोजनाले बताएको छ । तर सर्वोच्च अदालतको आदेशपछि दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणकार्य तत्कालका लागि रोकिएको परियोजनाले बताएको छ ।