मंसिर २२, काठमाडौं – १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आठौैँ दिन आज आइतबार विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्ती खेलमा प्रतिस्पर्धा हुनेछ । महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुँदैछ । जनकपुरमा कुस्ती र बाँकी खेल काठमाडौँमा हुनेछ ।
नेपाल र बङ्गलादेशबीको पुरुष फुटबल साँझ ५ः०० बजे दशरथ रंगशालामा हुँदैछ ।सातौँ दिनसम्म नेपाल ४३ स्वर्णसहित पदक तालिकाको दोस्रो स्थानमा छ । भारत एक सय १९ स्वर्णसहित शीर्ष स्थानमा छ ।