मंसिर ७, काठमाडौं – उपनिर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्षनेता चुनावी दौडमा व्यस्त हुन थालेका छन् ।
यही मङ्सिर १४ गते हुने निर्वाचनका लागि नेताहरु निर्वाचन हुने जिल्लामा जानेक्रम बढेको छ । चुनावीसभालाई सम्बोधन गर्न आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेल बागलुङ पुगेका छन् ।
नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्नुभएका बागलुङ–२ (ख) का खिमविक्रम शाहीका पक्षमा प्रचारप्रसार गर्न उहाँहरु बागलुङ पुगेका हुन् ।
अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली मङ्सिर ११ गते कास्की–२ को अमरसिंह चोकमा हुने आमसभामा सम्बोधनका लागि जाने कार्यक्रम छ ।
भक्तपुरमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालका साथै सचिवालय सदस्य वामदेव गौतमले चुनावीसभालाई सम्बोधन गरेका छन् ।
नेकपाले निर्वाचनमा विजय हासिल गर्न स्थानीय तहमा पनि प्रचारप्रसारलाई तीव्रता दिएको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ बाट विद्या भट्टराई उम्मेदवार बन्नुभएको छ ।
रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको उक्त क्षेत्रमा पार्टीले उहाँकी धर्मपत्नी भट्टराईलाई उम्मेदवार बनाएको हो ।
निर्वाचन आयोगले यही मङ्सिर १४ गते बिहान ७ देखि साँझ ५ बजेसम्म रिक्त रहेका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिको निर्वाचन गराउँदैछ ।