कात्तिक २१, काठमाडौं – बूढानीलकण्ठ नगरपालिकाले हरिबोधिनी एकादशी परेकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
कात्तिक २२ गते शुक्रबार हरिबोधिनी एकादशीको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले बताए ।
स्थानीय संस्कृति, परम्परा र जात्राको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
उक्त दिन नगरपालिका अन्तर्गत रहेका नगरपालिका– वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक बिदा हुने बताइएको छ । बूढानीलकण्ठमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म विशेष मेला लाग्ने गरेको छ ।