भीआईपी जुवाडेहरूमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप

कात्तिक १४, काठमाडौं – भीआईपी जुवाडेमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले सात दिन म्याद थपेको छ।

बिहीबार प्रशासनमा उपस्थित गराइएका २५ जनालाई प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एकमुष्ट ७ दिनको म्याद दिएर अनुसन्धान प्रक्रियालाई अघि बढाउन अनुमति दिएका हुन् ।

उनीहरु पक्राउ परेको ५ दिन बितिसकेको छ भने अब २ दिनमा प्रहरीले अनुसन्धान गरेर जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुपर्नेछ ।यसैबीच बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका जुवाडेमध्येका १४ जनाको रिटमा बिहीबार सुनुवाइ हुँदैछ ।

शनिबार राति महाराजगञ्जबाट महानगरीय प्रहरी वृत्तले २५ जना ‘हाइप्रोफाइल’ जुवाडेलाई पक्राउ गरेको थियो । गत शनिबार राति नारायण गोपाल चोक छेउबाट जुवा खेलिरहेको अवस्थामा गुण्डा नाइके बलराम सापकोटा ‘बले’सहित २५ जना जुवाडे पक्राउ परेका थिए। उनीहरूबाट प्रहरीले दुई करोड ६७ लाख रूपैयाँ र ३ लाख बराबरको चेकसमेत बरामद गरेको थियो।