नयाँ नोट साट्दै हुनुहुन्छ ? यि ठाँउमा पाउन सकिन्छ ।

असोज १०, काठमाडौं – दशैंका लागि । नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोटको सटही सेवा सुरु गरेको छ । आजदेखि असोज १७ गतेसम्म नोट साट्न पाइन्छ ।

राष्ट्र बैंकले उपत्यकाभित्र विभिन्न बैंकसँग मिलेर ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्ने व्यवस्था मिलाएको छ । बैंकले बालुवाटारबाट मात्रै नयाँ नोट सटही गर्ने भएको छ ।

उपत्यकाभित्र राष्ट्र बैंकका साथसाथैं नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडका शाखाबाट पनि सेवाग्राहीले नयाँ नोट सटही गर्न सकिन्छ ।

नेपाल बैंक लिमिटेडका उपत्यकास्थित ७ वटा शाखाबाट नयाँ नोट वितरण गरिने व्यवस्था मिलाइएको छ । न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटहीको सुबिधा रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर , सानो थिमि, विशाल, बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट साट्न सकिन्छ ।

कृषि विकास बैंकले उपत्यकाका ६ वटा शाखाबाट नयाँ नोट वितरण भइरहेको छ । गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट रकम वितरण भइरहेको छ ।