एनसेल कार्यालयमा बम विष्फोटनमा संलग्न फरार अभियुक्त पक्राउ

असोज ८, काठमाडौं — ललितपुर नख्खुस्थित एनसेलको कार्यालय अगाडि बाटोमा भएको बम बिष्फोटन घटनामा संलग्न फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोट नरहरिनाथ गाउँपालिका(१ घर भएका ४३ वर्षीय हितमान भन्ने नविन बिश्वकर्मा रहेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिकाबाट पक्राउ गरेको हो  । उनको साथबाट नेकपा बिप्लव समुहसंग सम्बन्धीत बिभिन्न प्रकारका किताब, डायरीहरु तथा बिभिन्न कम्पनीको मोवाइल तथा सिम कार्डहरु समेत प्रहरीले बरामद गरेको प्रहरीले बताएको छ ।

उनले २०७५ फागुन १० गते ललितपुर नख्खुस्थित एनसेलको कार्यालय अगाडि बाटोमा भएको बम बिष्फोटन पछि फरार रहेका थिए । बिष्फोटनमा ललितपुर भैसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंह बहादुर गुरूङको मृत्यु भएको थियो भने अन्य २ जना घाइते भएका थिए ।

साथै २०७५ बैशाख ९ गते ललितपुर महानगरपालिका(२३ धापाखेलस्थित तत्कालिन प्रमुख निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादवको घर कम्पाउण्डमा बम बिष्फोटन भएको घटनामा समेत निज बिश्वकर्मा संलग्न रहेको उक्त परिसरले जनाएको छ ।

पक्राउ बिश्वकर्मालाई आवश्यक कार्वाहीको लागि मंगलबार जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।