इन्डोनेसियामा प्रदर्शनकारीले आगो लगाउदा १६ जनाको मृत्यु

 

असोज ७, एजेन्सी —इन्डोनेसियाको पूर्वी प्रान्त पापुआमा प्रदर्शनकारीले स्थानीय शहरका भवनमा आगजनी गर्दा कम्तिमा १६ जनाको ज्यान गएको छ । प्रदर्शनमा सहभागीहरु अधिकांश हाइस्कूलका विद्यार्थी हुन् ।

उनीहरुले स्थानीय शहर वामेनाका भवनमा आगजनी गर्दा धेरै मानिस घाइते भएका छन् । आगजनी भएको भवनमा फसेकाहरुको ज्यान गएको हो ।

पापुआमा यस्तो खालको हिंसा बारम्बार हुने गरेको छ । गएको अगस्टमा रंगभेदी टिप्पणीकै कारण हप्ता दिनभन्दा बढी समय तनावको अवस्था सिर्जना भएको थियो ।

नेदरल्याण्डसको उपनिवेशमा रहेको पापुआ सन् १९६१ मा स्वतन्त्र घोषित भएको थियो । तर सन् १९६९ मा विवादास्पद रुपमा इन्डोनेसियाले कब्जा र्गयो ।

हालसम्म पनि इन्डोनेसियाबाट स्वतन्त्र हुनका लागि आन्दोलन हुँदै आएको छ । गएको अगस्टमा स्थानीयमाथि भएको रंगभेदी मजाकले त्यसलाई बल प्रदान गरेको थियो । पापुआ क्षेत्रमा बसोबास गर्ने अधिकांश अफ्रिकन मुलका छन् । इन्डोनेसियामा मुल जाती मंगोलियन हो ।