असोज २,काठमाडौं—सिंगापुरमा हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । बिहीबार एक पत्रकार सम्मेलन गरी उक्त घोषणा गरिएको हो ।
सिंगापुरमा सेप्टेम्बर २७ देखि आयोजना हुने टी–ट्वान्टी सिरिजका लागि आईसीसीका प्रतिनिधि, नेपाली प्रशिक्षक तथा कप्तानले बन्द प्रशिक्षणमा रहेका खेलाडीमध्येबाट १५ सदस्यीय नेपाली टोलीको छनोट गरेका हुन् । घरायसी कामका कारण उक्त टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्लले स्थान बनाएका छैनन् । उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीलाई दिइएको छ । यता, कप्तानी भने पारसले नै समाल्ने छन् ।
कप्तान पारस र उपकप्तान दीपेन्द्रबाहेक टोलीमा सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी, पवन सर्राफ, सन्दीप लामिछाने, अभिनाष बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, इशान पाण्डे, सन्दीप जोरा र रोहितकुमार पौडेलले स्थान बनाएका छन् ।
सिंगापुर क्रिकेटको आयोजनामा हुने उक्त सिरिजमा आयोजक सिंगापुर र नेपालबाहेक जिम्बावे पनि छ । नेपालको पहिलो प्रतिद्वन्द्वीका रूपमा जिम्बावे रहेको छ । नेपालले जिम्बावेसँग सेप्टेम्बर २७ मा जिम्बावेसँग र २८ मा आयोजक सिंगापुरसँग खेल्नेछ ।