असोज १— पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्ना खास प्रतिद्वन्द्वी लियोनल मेस्सीभन्दा धेरै बालोन डी‘ओरको हकदार भएको बताएका छन् । गत मंगलबारको ब्रिटेन टिभी ‘आइटिमी’सँगको अन्तर्वार्ताका क्रममा पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डोले यस्तो बताएका हुन् ।
पछिल्लो एक दशकयता रोनाल्डो र मेस्सीले समान ५–५ पटक बालोन डी‘ओर जितिसकेका छन् । अघिल्लो वर्ष यी दुवै खेलाडीलाई पछि पार्दै रियल मड्रिडका लुका मोड्रिकले उक्त प्रतिष्ठित अवार्ड जितेका थिए । तर, त्यभन्दा अगाडि रोनाल्डो र मेस्सीले यो अवार्ड जित्दै आइरहेका थिए ।
३४ वर्षीय स्टार रोनाल्डोले प्रिमियर लिग, ला लिगा र सिरी ‘ए’ जस्ता चर्चित लिगहरूमा आफ्नो अनुभव संगालिसकेका छन् । रोनाल्डोले म्यानचेष्टर युनाइटेड र रियल मड्रिडबाट ५ वटा च्याम्पियन्स लिगको उपाधि जितेका छन् । र, आफ्नो देशलाई सन् २०१६ को यूईएफए युरोपियन च्याम्पियनसिप र सन् २०१९ को यूईएफए नेशन्स लिगको उपाधि निताएका छन् ।
अर्जे्न्टिनाका कप्तानसमेत रहेका मेस्सी र रोनाल्डोको प्रतिस्पर्धा मैदानभित्र र बाहिर उत्तिकै हुन्छ । हालै मात्र आफ्नो राष्ट्र पोर्चुगललाई नेशन्स लिगको उपाधि दिलाएका रोनाल्डोले सो अन्तर्वार्ताका क्रममा आफू मेस्सीभन्दा धेरै बालोन डी‘ओरको हकदार भएको बताएका हुन् ।
‘फुटबलको इतिहासमा मेस्सी पनि एक हुन्’, उनले भनेका छन् ‘तर, मेरो विचारमा मसँग ७ वा ८ वा ९ वटा बालोन डी‘ओर हुनुपर्ने हो । मलाई बालोन डी‘ओर धेरै नै मन पर्छ र मेरो विचारमा म उनीभन्दा धेरै वटा बालोन डी‘ओरको हकदार हुँ ।’
यस्तै पोर्चुगलका कप्तान रोनाल्डोले आफू मेस्सीको साथी नभएको तर आफूलाई महान् खेलाडी बनाउनमा मेस्सीको ठूलो हात रहेको पनि उल्लेख गरेका छन् । उनले भनेका छन् ‘मेरो मेस्सीसँग राम्रो सम्बन्ध छ, हामी साथी होइनौं । तर, हामीले एउटै स्टेज १५ वर्ष साटासाट गरेका छौं । मलाई थाहा छ उनले मलाई एउटा उत्कृष्ट खेलाडी बनाउनमा धेरै सहयोग गरेका छन् । र, मैले पनि उनलाई उत्कृष्ट खेलाडी बनाउन सहयोग गरेको छु ।’
यसैगरी रोनाल्डोले आफूले रेकर्डलाई फलो नगर्ने तर रेकर्डले आफूलाई पछ्याउने बताए । उनले भने, ‘म कहिल्यै पनि रेकर्डलाई पछ्याउँदिन बरु रेकर्ड आफैं मेरो पछि लाग्छ । म सफलताका लागि पागल हुन्छु, मलाई लाग्दैन कि यो नराम्रो हो । बरु यो त राम्रो कुरा हो ।’
एजेन्सी