असोज १, काठमाडौं — नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले सम्पन्न हुन नसकेका कामहरुलाई एक बर्ष म्याद थप्न आग्रह गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई भेटी म्याद थपको व्यवस्था संशोधनका लागि पहल गरिदिन आग्रह गरेको छ ।
२०७६ मा सम्पन्न हुन नसकेका परियोजनाहरुको हकमा एक वर्ष म्याद थपको प्रष्ट व्यवस्था भएपनि विगतका संशोधनका केही बुँदालाई आधार मान्दै म्याद थप नभइरहेकोमा महासंघले मन्त्रीसमक्ष ध्यानाकर्षण गरेको छ ।
निर्णय सम्झौता अवधिभित्रै गरिसक्नुपर्नेछ भन्ने नियमावलीले ब्यबसायीहरुलाई समस्या भएको भन्दै महासंघले तीन पटक नियमावली संशोधन भएपनि म्याद थपको समस्या समाधान नभएको को मन्त्रीसामु राखेका छन् ।
परियोजनाहरुलाई प्राविधिकको पुष्ट्याईको आधारमा आवश्यकता अनुसार म्याद थप गर्न सकिनेछ भनी उल्लेख हुनुपर्ने महासंघको माग छ ।
जवाफमा मन्त्री भट्टराईले सरोकारवाला निकायसँग छलफल गरी समस्या समाधानका लागि पहल गर्ने बताउनु भएको छ ।
भेटमा महासंघका उपाध्यक्ष आङ दोर्जी लामा (एडी), महासचिव रोशन दाहाल, महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता रहेको थियो ।