लुटेरा समूहद्धारा गोली प्रहार गरी एक व्यक्तिको हत्या

भदौं २९,काठमाडौं—रुपन्देहीको रोहिणी गाउँपालिका –३ मा बैंकबाट रकम लिएर फर्किँदै गरेका एक व्यक्तिलाई लुटेरा समूहले गोली प्रहार गरी हत्या गरेका छन् ।

आज दिउँसो बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका ओमसतिया गाउँपालिका–५ का ३७ वर्षीय महेन्द्र कुर्मीलाई पछ्याउँदै आएका व्यक्तिले पैसा नदिएपछि गोली प्रहार गरी भागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । कुर्मीको घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरीका एसएसपी हृदय थापाले जानकारी दिए ।

बाइकमा आएको लुटेरा समूहले भैरहवास्थित हिमालयन बैंकबाट रकम लिएर घरतर्फ जाँदै गर्दा कुर्मीमाथि गोली प्रहार भएको स्थानीयले बताए ।

गोली प्रहार गर्ने समूहले उनको साथमा रहेको ५ लाख रुपैयाँ लुटेर लगेका छन् ।

जिल्लाका सबै नाकामा कडा निगरानी गर्दै घटनाबारे अनुसन्धान भईरहेको रुपन्देही प्रहरीले जनाएको छ ।