नेकपा सचिवालय बैठकमा उपनिर्वाचन तयारीको निर्णय

भदौं २५, काठमाडौं — नेपाल कम्युनिस्ट पार्टीको बुधबार बसेको सचिवालय बैठकले उपनिर्वाचन तयारीबारे निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपनिर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको हो ।

बैठकबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले उपनिर्वाचनबारे छलफल र निर्णय भएको जानकारी दिए ।

निकट भविष्यमा हुन गइरहेको संघीय संसद प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदको उपनिर्वाचनका लागि पुनः दल दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगले गरेको पत्राचारका आधारमा दल दर्ता गर्ने जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिएको छ ।

निर्वाचन आयोगले आगामी मंसिर १४ गते उपनिर्वाचनका लागि मतदानको मिति तोकेको छ । जसका लागि दल दर्ता गर्नेबारे सूचना जारी गरिसकेको छ ।