भदौ, २४ काठमाडौँ- नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला सच्चा राष्ट्रवादी नेता भएको बताइएको छ । जननायक विपी कोइरालाको १०६औँ जन्मजयन्ती तथा काँग्रेसको दोस्रोचरणको राष्ट्रिय जागरण अभियानका क्रममा नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)ले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा स्वर्गीय कोइराला राष्ट्रप्रेमी नेता भएको बताइएको हो ।
कार्यक्रममा पूर्वमन्त्री एवं काँग्रेसका सांसद भीमसेनदास प्रधानले विपी कोइराला राष्ट्रवादी व्यक्तित्व भएको उल्लेख गरे । उनले भने, ‘मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाबाट देशले पाठ सिक्नुपर्छ ।’ पूर्वरक्षामन्त्रीसमेत रहेका प्रधानले सरकारको कार्यशैलीप्रति नेपाली जनतामा निराशा छाएको बताए । ‘दुइतिहाइको सरकारले जनताको इच्छा र चाहनाबमोजिम काम गर्न ससकेको छैन्,’ उनले भने, ‘नेपाली काँग्रेसभित्र जनतामा भन्दा पनि नेतामा जागरण अभियान आवश्यक रहेको छ ।’
काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँले जिल्ला, प्रदेश र वडामा पार्टीको संगठनलाई ऊर्जाशील बनाउन जागरण अभियानले सहयोग पुग्ने बताए । कार्यकर्ता नेतासँग भन्दा पनि नेता कार्यकर्तासम्म पुग्ने वातावरण निर्माण नगरेसम्म काँग्रेस बलियो हुन नसक्ने उनको भनाइ थियो ।
पार्टीको तर्फबाट जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधि दयाराम पाण्डेले वडा र गाउँमा काँग्रेस बलियो नभइकन केन्द्रमा बलियो हुन नसक्ने बताए । काँग्रेसको सिंगो संगठनलाई बलियो बनाउन जागरण अभियानले सहयोग पुग्ने उनको भनाइ थियो ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले विपी कोइराला महान् राजनीतिक व्यक्तित्व भएकाले विपी कोइरालालाई सिंगो मुलुकले सम्झनुपर्ने बताइन् । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क) का सभापति ख्यामराज तिवारी, काँग्रेस काठमाडौँ महानगरपालिका– २६ का सचिव गणेश रिजाललगायतले विपी कोइरालालाई एक दिनमात्र सम्झना गरेर नपुग्नेमा जोड दिए ।