चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

भदौं २२, काठमाडौं — चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आइतबार नेपाल आउँदैछन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आउन लागेका हुन् । पाकिस्तान हुँदै नेपाल आउने आउने वाङलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् ।

उनको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको छ । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण उपयुक्त समयमा हुने भनिए पनि मिति निश्चित भइसकेको छैन ।
विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।