भदौं २०,काठमाडौं —श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा भएको आजको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
कोलम्बोमा शुक्रबार भएको पहिलो खेलमा १६० रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ३३.४ ओभरमा चार विकेटको क्षतिमा ५ विकेटले नेपाललाई पराजित गरेको हो ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा १५९ रन बनाएपछि श्रीलंकाले सामान्य चुनौती पाएको थियो । नेपालले ९ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ४३ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।
आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकाको जितमा कमिल मिश्राले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अहान विक्रमसिंगेले ३० तथा अभिस्का थारिन्दुले अविजित २५ रन बनाए ।
नेपालका राशिद खानले २ विकेट लिए । पवन सरार्फ, कमल सिंह ऐरी र सागर ढकालको नाममा एक एक विकेट रह्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ४२ ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो ।
नेपालको सम्मान जनक स्कोरमा रित गौतमले अर्धशतकीय इनिङ्स खेले । रितले नेपालका लागि ८६ बलमा सर्वा्धिक ५४ रन बनाए । यस्तै कप्तान रोहित कुमार पौडेलले ४७ रन बनाए । त्यस्तै राशिद खानले १५ तथा हरि बहादुर चौहानले १२ रन जोडे । नेपाललाई सस्तैमा रोक्न श्रीलंकाका दिल्सान मधुशनका र नाभोद दिनुसरीले ३र३ विकेट लिए ।
जितसंगै समूह ’बी’ को श्रीलंकाले २ अंक जोडेको छ । नेपालले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
अब नेपालले दोस्रो खेलमा आइतबार बंगलादेशसँग खेल्नेछ । यस्तै नेपालले अन्तिम खेलमा मंगलबार युएईसँग खेल्नेछ ।