प्रेम अस्वीकार गरेको भन्दै एसिड प्रहार

भदौं २०,काठमाडौं —वीरगंज महानगरपालिका–३ बस्ने १५ वर्षीया किशोरीमाथि प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एसिड प्रहार भएको छ ।

उता, एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा वीरगंज महानगरपालिका २ छप्कैया बस्ने सम्साद मियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

छपकैया स्थित आफनो घरबाट विर्तामा रहेको त्रिभुवन माध्यमिक विधालयमा बिहान जाने क्रममा पर्साको वीरगञ्ज नगरपालिका वडा नम्बर ६ गणेशमान चोकमा शुक्रबार बिहान ६ बजेर १० मिनेटमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।

पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छप्कैया बस्ने १६ वर्षका सम्साद मिया र सोही उमेरका माजिद आलमले खातुनमाथि एसिड प्रहार गरी घाइते बनाई फरार भएका थिए ।सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले एसिड प्रहार गर्नेमध्ये सम्साद मियालाई पक्राउ गरेको हो ।

घाइते भएकी किशोरीलाई उपचारको लागि नारायणी अस्पताल वीरगंज लगिएकोमा थप उपचारको लागि कीर्तिपुरस्थित फेक्ट अस्पतालमा पठाइएको छ । उनको दाहिने गाला, छाती र हात जलेको एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

फरार माजिद आलमको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खातुन वीरगञ्जमा आफ्नो मामाघरमा बस्दै आएकी थिइन् ।