बहामसपछि अमेरिका पुग्यो शक्तिशाली आँधी डोरिअन

भदौ २० —बहामसमा विध्वंस निम्त्याएको शक्तिशाली समुद्री आँधी डोरिअन संयुक्त राज्य अमेरिका पुगेको छ ।

डोरिअनले साउथ र नर्थ क्यारोलाइनामा ठूलो वर्षा निम्त्याएको छ । क्याटगरी टु आँधी बिस्तारै उत्तरसँगै अमेरिकाको पूर्वी तटीय क्षेत्रतर्फ बढिरहेको छ ।

मौसमविद्हरूले केही क्षेत्रमा खतरनाक आँधीको सम्भावना औँल्याएका छन् ।

साउथ क्यारोलाइनाको चार्ल्सटनमा दुई पटक ठूलो उचाइमा समुद्री छाल आएर गएको छ । र, अबका केही दिनभित्र डोरियन कमजोर हुँदै जाने अपेक्षा गरिएको छ । अघिल्लो दिन प्रतिघण्टा ११५ किलोमिटर वेगसहितको हावाहुरी चलेकोमा अहिले १०५ किलोमिटरमा झरेको छ।

बहामसमा तथ्याङ्क राख्न थालिए यताकै शक्तिशाली आँधीको रूपमा सेप्टेम्बर १ तारिखमा डोरिअन प्रवेश गरेको थियो । यसअघि डोरिअनले बहामसको अबाको टापुमा हजारौँ घरमा क्षति र्पुयाएको थियो । त्यतिबेला त्यसले प्रतिघण्टा १८५ किलोमिटरको वेगसहित हावाहुरी निम्त्याएको थियो । दुई दिनसम्म त्यसले अबाको टापु र ग्र्याण्ड बहामामा असर र्पुयाएको थियो।

बहामसका प्रधानमन्त्री हुबेर्ट मिनिसले उक्त समुद्री आँधीलाई ’देशमा आएको ठूलो सङ्कटमध्ये एउटा’ भएको बताएका थिए । डोरिअन आँधीका कारण ज्यान गुमाउने मानिसहरूको सङ्ख्या बढ्न सक्ने उनको अनुमान छ ।

समुद्री आँधीसम्बन्धी अमेरिकी केन्द्र एनएचसीका अनुसार नर्थ क्यारोलाइनाको विल्मिङटनको ८५ किलोमिटर दक्षिणमा स्थानीय समय अनुसार साँझ ५ बजे डोरिअन पुगेको थियो र प्रतिघण्टा १० किलोटिरको वेगमा उत्तर(पूर्व्तिर बढिरहेको थियो ।

डोरिअन स्थानीय समय अनुसार बिहीवार साँझ र शुक्रवार नर्थ क्यारोलाइनाको तटीय क्षेत्रनजिक अथवा माथि पुग्न सक्ने एनएचसीले जनाएको छ ।

अधिकारीहरूका अनुसार बिहीवार बिहान साउथ क्यारोलाइनको तटीय क्षेत्रनजिक पर्ने स्थानका एक लाखभन्दा बढी मानिसहरू बिजुलीविना बस्न बाध्य भएका थिए ।

सामाजिक सञ्जालमा राखिएको भिडिओ फूटेजमा मध्य चार्ल्सटनमा बाढी आएको देखिन्छ । पूर्वी तटीय क्षेत्रतिरका २२ लाखभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सर्न आदेश दिइएको छ ।
बिबिसी