काठमाडौ- नेपालमा पर्वतीय पर्यटनसम्बन्धी सरकारले छुट्टै निकाय स्थापना गरेर सम्भावनाहरु खोजिरहेको छ । नेपाललाई पर्वतीय पर्यटनकारुपमा विकास गर्ने उद्देश्यले सरकारले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान गठन पनि गरेको छ । सरकारले गठन गरेको प्रतिष्ठानले पर्वतीय पर्यटनको विकासका सम्बन्धमा के कस्तो कार्यक्रमहरु सञ्चालन गरिरहेको छ भन्ने विषयमा इमेलखवर डटकमले प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवालीसँग गरेको संक्षिप्त कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।
यो पर्वतीय प्रतिष्ठान कहिले स्थापना भएको हो ?
विसं २०५९ मा यो प्रतिष्ठान गठन भएको हो । यसले पर्यटनसम्बन्धी तालिम, प्रशिक्षण तथा कार्यक्रम सञ्चालन गर्ने र पर्वतीय पर्यटनको बिकास, विस्तार र प्रवद्र्धनका लागि काम गर्दै आएको छ । प्रतिष्ठानले पर्वतीय र साहसिक पर्यटनका लागि जनशक्ति तयार गर्न अध्ययन अनुसन्धान गर्ने, पर्वतीय पर्यटनसम्बन्धी परामर्श तथा प्राविधिक सेवा सञ्चालन गर्ने कार्य गर्दै आइरहेको छ । नेपालमा पर्वतीय पर्यटन तथा साहसिक पर्यटनको लागि आवश्यक पर्ने उच्चस्तरीय जनशक्ति उत्पादन गर्न पर्वतीय पर्यटनसम्बन्धी शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ ।
अहिले यस प्रतिष्ठानबाट के के कामहरु भइहेको छ ?
प्रतिष्ठानले पर्वतीय पर्यटनसंग सम्बन्धित तालिम, प्रशिक्षण, पर्वतीय पर्यटनको विकास विस्तार र प्रवद्र्धनका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्ने, पर्वतीय पर्यटन सम्बन्धित दीर्घकालिन तथा अल्पकालिन योजना कार्यान्वयन गर्ने, शैक्षिक कार्यक्रम सञ्चालन गर्ने काम गर्दै आइरहेको छ । नेपालमा ८ प्रतिशत जिडिपीमा पर्वतीय पर्यटनले सहयोग पु¥याइरहेको छ । त्यसलाई मध्यनजर गर्दै हामीले पर्वतीय पर्यटनसम्बन्धी स्नातकको कक्षा सुरु गरेका छौँ । विश्वमै यो विषय नौलो र उदाहरणीय हुनेछ भन्ने हाम्रो मान्यता छ ।
प्रतिष्ठानले गरिरहेको कामको अहिलेसम्म कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
नयाँ कार्य भएकाले यसको चुनौति पनि धेरै छन् । नयाँ विषयवस्तु तयार पार्नका लागि हामीलाई केही समय लागेको छ । सम्बन्धित क्षेत्रका विज्ञहरुसँगको सहकार्यमा सबै काम पूरा भएको छ । पर्वतीय पर्यटन सम्बन्धमा आवश्यक पूर्वाधारको विकास गर्न र पर्वतीय पर्यटनसम्बन्धी काम गर्दा यसमा समय त लागिहाल्छ तर पनि यसलाई तिव्ररुपमा अगाडि बढाउने हाम्रो लक्ष्य रहेको छ । नयाँ विषय भएकाले सबै सरोकारवाला निकास र व्यक्तिहरुबाट राम्रै प्रतिक्रिया आइरहेका छन् ।
प्रतिष्ठानले पर्वतीय पर्यटनमा स्नातकको कक्षा सञ्चालन गरेको भन्नुभयो, कति छन् अहिले विद्यार्थीहरु ?
अहिले हामी सुरुवाती चरणमा रहेकाले हाम्रो उत्पादन वजारमा पुगिसकेका छैनन् । एडभेन्चर कोर्स भएकाले वैदेशिक जिज्ञासा पनि आइरहेका छन् । यसमा नेपालसँगै अन्तराष्ट्रिय चासो पनि बढ्दै गइरहेकाले हामीले आवासीय कलेजको अवधारणा पनि ल्याउने तयारी गरिरहेका छौँ । त्यो भयो भने हामी सिजनमा प्राक्टिकलका लागि कलेज बन्द गरेर विद्यार्थीलाई सगरमाथाहरुको अवलोकनका लागि पनि लैजाने सोच बनाइहेका छौँ । आगामी दिनमा यसलाई अन्तराष्ट्रिय अनुसन्धान केन्द्रकारुपमा विकास गरेर स्नातकोत्तरसम्मको अध्ययन गर्ने थलोकारुपमा विकास गर्ने लक्ष्य पनि लिएका छौँ । यसमा प्राक्टिकल बेस्ड कोर्सको विकास गर्ने छौँ ।
नेपालमा पर्वतीय पर्यटनको सम्भावना कस्तो पाउनुभएको छ ?
पर्वतीय पर्यटन तथा साहसिक पर्यटनको विकासको लागि आवश्यक पर्ने उच्चस्तरीय जनशक्ति उत्पादन गर्न पर्वतीय पर्यटनसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्दा अवश्य पनि यसको सम्भावना निकै देखिएको छ । भविष्यमा पर्वतीय क्षेत्रहरुमा पर्वतीय खेलकुदको विकास, बिस्तार र प्रबद्र्धन लक्ष्य पनि लिएका छौँ । कालान्तरमा यसलाई ‘पर्वतीय शैक्षिक हबकारुपमा विकास गर्ने लक्ष्यका साथ काम अगाडि बढाइरहेका छौँ । अहिले विश्वका २६ पर्वतीय मुलुक रहेका छन् । नेपालमा आरोहणका लागि खुला गरिएका ४१४ हिमालहरु मध्ये २५ वटा जति हिमालमामात्र आरोहण हुने गरेकोमा ७००० मिटरभन्दा साना हिमालहरुमा पर्वतीय खेलकुदको विकास गरेर अगाडि बढ्ने लक्ष्य राखिएको छ । ति क्षेत्रमा पर्वतीय खेलकूदको विकास गरेर आधार शिविरहरुमा रिसोर्ट स्थापना गरी सञ्चालनमा ल्याउन सकेमा पक्कै पनि नेपालको आर्थिक विकास बढ्ने निश्चित छ ।
अन्त्यमा पर्वतीय पर्यटनमा बढिभनदा बढि सहभागिता अभिवृद्धि गर्नका लागि प्रतिष्ठानले के गरिरहेको छ ?
प्रतिष्ठानले नेपालमा अन्तर्राष्ट्रियस्तरको पर्वतीय प्रशिक्षण केन्द्र स्थापनाका लागि गुरुयोजना तयार गरेको छ । गुरुयोजनाअनुसार निर्माण कार्य हाल द्रूत गतिमा भइरहेको छ । स्वीकृत गुरुयोजनाको कार्यान्वयन गर्दै प्रतिष्ठानका उद्देश्यहरु पुरा गर्नका लागि विभिन्न स्थानमा पर्वतीय प्रशिक्षण केन्द्र निर्माण गरी दक्ष जनशक्तिको उत्पादन गर्ने सोच बनाइएको छ । अर्को कुरा विश्वमै पहिलो पर्वतीय पर्यटन र पर्वतारोहणसँग सम्बन्धित पर्वतीय विश्वविद्यालय स्थापना गर्ने लक्ष्य छ ।