भदौं १७—सेल्फी खिचेर फेसबूक, ट्विटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्तिहरूलाई उनीहरूका साथीले आत्मकेन्द्री र कम सफल व्यक्तिका रूपमा बुझ्ने गरेको एक अध्ययनले देखाएको छ ।
अमेरिकाको वाशिङटन स्टेट विश्वविद्यालयका अनुसन्धाताहरूले सयौं इन्स्टाग्राम अकाउन्टको विश्लेषण गरेर कुनै व्यक्तिको व्यक्तित्वका विषयमा मानिसको पहिलो प्रभाव कस्तो हुन्छ भनी पत्ता लगाएका थिए ।
कुनै व्यक्तिले जति कम सेल्फी फेसबूकमा पोस्ट गर्छ, त्यो व्यक्तिलाई त्यति नै रुचाइने गरिएको उनीहरूले पाए ।
अर्काले खिचिदिएको फोटो अप्लोड गर्नेहरू भन्दा सेल्फी खिच्ने व्यक्तिहरू आफूलाई असुरक्षित अनुभव गर्ने र नयाँ अनुभव गर्न नचाहने पनि उनीहरूले पाए ।
विश्वविद्यालयका प्राध्यापक क्रिस ब्यारीले अध्ययनका लागि दुई समूहका विद्यार्थीको आँकडा विश्लेषण गरे ।
पहिलो समूहमा स्नातक तहका ३० जना थिए र उनीहरूलाई व्यक्तित्व प्रश्नावली भर्न लगाइएको थियो । उनीहरूले परीक्षणका लागि आफ्ना पछिल्ला ३० इन्स्टाग्राम पोस्ट अध्ययन गर्न दिएका थिए ।
ती पोस्टहरू सेल्फी थिए कि अर्काले खिचिदिएको तस्वीर थिए अनि प्रत्येक तस्वीरमा के देखिएको थियो भन्ने आधारमा कोडिङ गरिएको थियो ।
दोस्रो समूहमा स्नातक तहका ११९ जना विद्यार्थी थिए । यस समूहलाई पहिलो समूहको इन्स्टाग्राम प्रोफाइलको रेटिङ गर्न लगाइएको थियो र तस्वीर हेरेर आत्ममुग्धता, कमजोर आत्मसम्मान, सफलता लगायतका गुणको विश्लेषण गर्न लगाइएको थियो ।
प्राध्यापक ब्यारीको टोलीले त्यसपछि पहिलो समूहका विद्यार्थीको तस्वीरमा रहेका संकेतले व्यक्तित्वको रेटिङ गर्न सकिने नसकिने विषयमा विश्लेषण गरेका थिए ।
‘व्यक्तिले उपलब्धि वा यात्रा जस्ता उस्तै विषयमा वर्णन गरेर तस्वीर राख्दा सेल्फी राखेमा हेर्ने मानिसलाई नकारात्मक सोच आउने अनि पोजी (अर्का खिचिदिएको तस्वीरमा पोज मात्र दिने) राख्दा सकारात्मक सोच आउने गरेको पाइयो,’ ब्यारीले बताए ।
एजेन्सी