भदौं १७, काठमाडौं — डेंगी र स्क्रब टाइफसबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चार जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लो पटक गैंडाकोटका २८ वर्षीया युवतीको स्क्रब टाइफसबाट पुरानो मेडिकल कलेज र अन्य तीन जनाको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। जसमध्ये गैंडाकोट स्थायी घर भई नारायणगढ बसोबास गर्ने ७१ वर्षीय वृद्धको डेंगीको कारण मृत्यु भएको हो ।
रौतहटबाट उपचारका लागि आएका ३४ वर्षीय पुरुषको स्क्रब टाइफस र शुक्रनगरकी १६ वर्षीया किशोरीको डेंगी र स्क्रब टाइफस सङ्क्रमणको कारण मृत्यु भएको केसीले जानकारी दिए।
महानगरमा संक्रमण बढ्दै गएपछि सचेतनाका कार्यक्रमलाई तीव्र पारिएको छ जसअन्तर्गत गत शनिबार सचेतर्ना याली निकालिएको थियो। दैनिक माइकिङ गर्ने, लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने जस्ता कार्य वडा तहसम्म भइरहेको महानगरले जनाएको छ।
केसीका अनुसार स्क्रब टाइफसका बिरामीको तथ्यांक संकलन गर्ने काम भइरहेको छ । संक्रमण बढ्दै गएपछि जिल्लाका अधिकांश अस्पताल भरिएका छन् ।
रासस