भदौ १५, काठमाडौँ—एटिएमबाट अनाधिकृत रुपमा रकम निकाल्ने पाँच चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
दरबारमार्ग्स्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन् । उनीहरुलाई माया मनोहर होटलबाट पक्राउ गरिएको हो ।
मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा चिनियाँ नागरिक पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बताए । उनीहरूको साथबाट एक करोड २६ लाख नेपाली रुपैयाँ र नौं हजार अमेरिकी डलर बरामद भएको छ ।
पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले बताए ।
एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने समूहविरुद्ध काठमाडौं प्रहरी परिसरले विशेष अपरेसन चलाएको थियो ।