भदौं १२,काठमाडौं —मालापोत कार्यालय बुटवलका एक खरिदार र लेखापढी व्यवसायीेलाई १ लाख २० हजार घुस सहित आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले नियन्त्रणमा लिएको छ ।
बिहीवार खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डेलाई जग्गा नामसारी र लालपुर्जा बनाइदिने भन्दै सेवाग्राहीसँग १ लाख २० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।
उनीहरुलाई मालपोत कार्यालय अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवाको कार्यालयबाट घुस रकमसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको भुसालले जानकारी दिए । पछिल्लो समय अख्तियार बुटवलको सक्रियता बढाएको छ ।