भदौ ६,काठमाडौं— नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले मुलुकमा अहिले पनि राजतन्त्रात्मक प्रवृत्ति यथावत् रहेको बताएका छन् ।
शुक्रबारबाट ‘नाइन सेभेन सेभेन भेन्चर्स’ ले भृकुटी मण्डपमा सुरु गरेको ‘नेपाल एजुकेसनल फेस्टिभल’ को उद्घाटन गर्दै नेता पौडेलले मुलुकबाट राजा फालिए पनि राजतन्त्रात्मक प्रवृत्ति फाल्न नसकिएको बताएका हुन् ।
नेता पौडेलले भने,‘मुलुकले नयाँ संविधान प्राप्त गर्यो, तर नयाँ प्रवृत्तिको राजनीति प्राप्त गर्न सकेको छैन । हामीले राजा फाल्यौं तर राजतन्त्रात्मक प्रवृत्तिलाई फाल्न सकेका छैनौं,’ उनी थप छन् , ‘हामीले मुलुकको सही गन्तव्य अहिले पनि पहिल्याउन सकेका छैनौं । मुलुकको प्राथमिकता हामीले अहिले पनि छुट्याउन सकिरहेका छैनौं ।’
पौडेलले राजनीतिले समाजको वास्तविक विषयहरुलाई उठाउन नसकेका कारण समाज एकातिर र राजनीति अर्कोतिर गइरहेकोे बताए ।समृद्धिको शब्द वाचन गरेर मुलुकले समृद्धि प्राप्त गर्न नसक्ने भन्दै समृृृद्धिका लागि विशेष योजना ल्याउन आवश्यक रहेकोमा उनको जोड थियो ।