साउन २४, काठमाडौं– खाद्य वस्तुको विषादी परीक्षणका लागि प्रदेशमा प्रयोगशाला स्थापना हुने भएको छ ।
प्रदेश सरकारले पनि आ–आफ्नै प्रदेशमा खाद्य वस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने योजना बनाएको हो ।
संघीय सरकारले खाद्य वस्तुको विषादी परीक्षण गर्न नसकिरहेका बेला प्रदेश सरकार आफैंले खाद्य वस्तुको विषादी परीक्षण प्रयोगशाला सुरु गर्ने योजना सार्वजनिक गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार काठमाडौंमा आयोजित चाडबाड लक्षित बजार अनुगमनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा प्रदेशका मन्त्रीहरुले यस्तो प्रतिबद्धता जनाए ।
प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी, प्रदेश ३ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले खाद्य वस्तुको विषादी परीक्षणका लागि प्रयोगशालाको स्थापना गर्ने बताएका हुन् ।
दसैँ, तिहारजस्ता चाडपर्वका बेला मूल्य वृद्धि हुने भएकाले बजार अनुगमनको कामलाई तीव्रता दिन संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
चाडबाडमा उपभोक्ता नठगिने वातावरण बनाउन तीनै तहको सरकारले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उनको धारणा रहेको छ ।