नेपाल एयरलाइन्स व्यवस्थापन सुधार गर्न बनाउन कार्यदल गठन

साउन २२,काठमाडौं –  नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सुधार गर्न ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल’ गठन भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बुधबारको निर्णय अनुसार पूर्व पर्यटनसचिव सुशील घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले मन्त्रालय सम्हालेको एक सातमै एयरलाइन्सलाई सुधार गर्न तत्परता देखाएका हुन् । उनले जुनसुकै हालतमा नेपाल एयरलाइन्सको सेवालाई चुस्त दुरुस्त बनाउने बताए ।

कार्यदलका सदस्यमा लेखा विज्ञ सुबोधकुमार कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल, क्याप्टेन सुधीरशम्शेर राई रहेका छन् । पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने कार्यदलको सदस्य सचिव रहेका छन्। कार्यदललाई एक महिनाभित्र निगमको समग्र सुधारका लागि प्रतिवेदन बुझाउने छ ।

प्रतिवेदनका सुझावहरुको कार्यान्वयन कार्ययोजनासमेत पेश गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ। कार्यदलले निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययनको प्रतिवेदन विश्लेषण गर्ने, निगमको वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने तथा निगमको कानूनी, संस्थागत संगठनात्मक, व्यवस्थापकीय एवम् व्यावसायिक क्षमतामा रहेका समस्याको पहिचान तथा विश्लेषण गरि प्रतिवेदन बनाउने छ । तत्कालीन र दीर्घकालीन सुधारहरुको समयबद्ध ठोस कार्ययोजना पेश गर्ने, निगमको सुधारका लागि कार्यदलले उपयुक्त देखेका अन्य सुझावहरु दिनसक्ने पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए ।

यसअघि पर्यटन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पर्यटनमन्त्री योगेशकुमार भट्टराईले निगमको विद्यमान व्यवस्थापनमा देखिएको अन्यौलग्रस्त अवस्थालाई हटाएर सेवालाई प्रभावकारी बनाउने बताए । ‘वाह १ नेपाल एयरलाइन्स’ भन्ने बनाउने मन्त्री भट्टराईले पदभार ग्रहण गरेकै दिन बताएका थिए ।

उनले निगम व्यवस्थापन सुधारका लागि अब अलमलिने अवस्था नरहेको भन्दै निगम सुधारका लागि घोषित कार्यदलको एक महिनाको अवधिमा आउने सुझावअनुरुप निगमलाई सुधारको काम अघि बढाइने बताए ।

यसैबीच सरकारले स्वदेशमै कम खर्चमा विमानचालक (पाइलट) उत्पादनका लागि उड्डयन विद्यालय (फ्लाइङ स्कुल) स्थापना गर्ने भएको छ। पर्यटनमन्त्री भट्टराईले देशभित्रै पाइलट उत्पादन गर्न र उनीहरुलाई आवश्यक तालिमको व्यवस्था गर्ने उद्देश्यका लागि फ्लाइङ स्कुल स्थापना गर्ने योजना रहेको बताए । फ्लाईङ स्कुलको लागि सरकारले नीजि वायुसेवा कम्पनीसंग सहकार्य गर्न खोजिरहेको छ ।