साउन २१, काठमाडौं – कतारमा सन् २०२२ मा आयोजना हुने आसन्न फिफा विश्वकप फुटबलका लागि एसियाको दोस्रो चरणको छनोटका लागि नेपालले आज प्रारम्भिक चरणमा ३१ सदस्यीय टोलीको घोषणा गरेको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रशिक्षणमा बोलाइएका ३६ खेलाडीमध्येबाट प्रारम्भिक चरणमा ३१ खेलाडीको छनोट गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बताएको छ ।
विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे रहेका छन् । दोस्रो चरणको छनोट खेल आगामी भदौ १९ गतेदेखि शुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल कुवेतसँग खेल्नेछ ।
नेपालले भदौ १९ गते कुवेतसँग घरेलु मैदानमा खेल्ने तय भएता पनि दशरथ रङ्गशालाको पुनःनिर्माण कार्य नसकिदा कुवेतमा नै गएर खेल्ने पक्का भएको हो । नेपालले कुवेतसँग होम एण्ड अवे दुवै खेल कुवेतमा नै खेल्नेछ ।
छनोट हुने प्रारम्भिक टोलीको गोलरक्षकमा किरणकुमार लिम्बु, एलन न्यौपाने, विकेश कुथु, विशाल श्रेष्ठ छन् । डिफेन्डरमा विराज महर्जन, सरोज दाहाल, रन्जिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देभेन्द्र तामाङ, रवि सिलवाल, दिनेश राजवंशी र बिमल पाण्डे छन् ।
त्यसैगरी मिडफिल्डरमा सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, त्रिदेव गुरुङ, हेमन गुरुङ र सुभाष गुरुङ छन् । स्ट्राइकरमा विमल घर्तीमगर, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट र भरत खवास छन् ।