हुम्लामा ४९ हजार क्वीन्टल खाद्यान्न माग

साउन २१, काठमाडौं — हिमाली जिल्ला हुम्लामा चालु आर्थिक वर्षका लागि जिल्लाभरिका डिपो, विक्री केन्द्र र शाखामा ४९ हजार क्वीन्टल खाद्यान्न माग गरिएको छ । जिल्लाको खाद्यान्न मागलाई ध्यान दिंदै जिल्ला खाद्य व्यवस्थापन समितिले सबैतिर बुझेर संस्थानको प्रधान कार्यालयलाई यति धेरै खाद्यान्न माग गरेको हो ।

यसअघि संस्थानले ढुवानी अनुदानमा पठाउने खाद्यान्न जिल्लामा अपुग हुने भएपछि अहिले सबैतिरको अध्ययन र सबैसँगको छलफलपछि वास्तविक आवश्यक खाद्यान्न कोटा पहिचान गरेर संस्थानको प्रधान कार्यालयलाई माग गरिएको हो ।

समितिको बैठकले निक्कै छलफलपछि सिमकोट शाखाका लागि चालु आर्थिक वर्षमा ३० हजार क्वीन्टल, अदानचुली गाउँपालिकाको श्रीनगर डिपो र सर्केगार्ड गाउँपालिकाको सर्केगार्ड डिपोको लागि पाँचरपाँच हजार क्वीन्टल, चंखेली गाउँपालिकाको देउली र ताँजकोट गाउँपालिकाको छप्रेला डिपोको लागि चाररचार हजार क्वीन्टल खाद्यान्न माग गरिएको संस्थानको सिमकोट शाखाका नायब सुब्बा सुरेन्द्र पोखरेलले बताएका छन् ।