एमाओवादी अछाममा केन्द्रीय सदस्यसहितको विद्रोह

असोज १४, अछाम । संविधानसभा निर्वाचनको उम्मेदवारीमा विवाद भएपछि एमाओवादी अछामका संयोजकसहति करिब एक सय जना नेता तथा कार्यकर्ताले विद्रोह गर्दै राजीनामाको तयारी गरिरहेका छन् ।

 

असन्तुष्ट नेता अक्कल रावलकाअनुसार विद्रोह गरी एमाओवादीमा प्रवेश गर्ने वा चुनावमा पार्टीको आधिकारीक उम्मेदवारकाविरुद्ध बागी उम्मेदवारी दिन भन्ने बारेमा बैठक बसिरहेको छ । अछाम क्षेत्र नं. १ बाट उम्मेदवारीका आकांक्षी वैकल्पिक केन्द्रीय सदस्य तारामान स्वाँर, जिल्ला संयोजक खगेन्द्र रोकाया भएपनि पार्टीले विवादका बीचमा दिपक साउद र झंकर रावललाई उम्मेदवारी दिएपछि विवाद उत्पन्न भएको थियो ।

पार्टीले हिजो मात्रै साउद क्षेत्र नं. १ बाट र रावल क्षेत्र नं. २ बाट उम्मेदवारी दिएको घोषणा गरेको थियो । क्षेत्र नं. १ बाट उम्मेदवारी नदिएकोमा निकै आक्रोसित भएका वैकल्पिक केन्द्रीयहरुले एमाओवादीमा आफु बसिरहनुको कुनै अर्थ नभएको बताए । त्यस्तै क्षेत्र नं. २ मा उम्मेदवारका आकांक्षी नेता अक्कल रावल नेताहरुले आफूलाई झुक्याएको आरोप लगाए ।

अब एमाओवादीमा आफूजस्ता नेता–कार्यकर्ता बस्नुको अर्थ नभएको भन्दै विद्रोह सहित आधिकारिक उम्मेदवारलाई हराइदिने बताए । त्यस्तै जिल्ला संयोजक खगेन्द्र रोकायाले पनि पार्टीको तोकेको उम्मेदवारीका विरुद्ध आफूले विद्रोह गर्ने बताए । हिजोमात्रै पार्टीले ठूलो विवादकाबीच उम्मेदवारी तोकेको थियो ।

उम्मेदवारी पाएका साउद र रावललाई नेता जनार्दन शर्मा र शक्ति बस्नेत तथा लेखराज भट्टको समर्थन रहेको छ । जिल्लास्तरीय नेता तथा कार्यकर्ताले अब अछाममा प्रचण्ड आएर जितेर देखाउनसमेत चुनौति दिएका छन् ।