साउन १७ , एजेन्सी — भारतीय क्रिकेटका कप्तान विराट कोहलीले फुटबल जगतका दुई उत्कृष्ट खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको तुलना गरेका छन् । फिफाको आधिकारिक वेभसाइटसँगको अन्तर्वार्ताको क्रममा क्रिकेटर कोहलीले अर्जे्न्टिनी कप्तान मेस्सीभन्दा पोर्चुगिज स्टार रोनाल्डोको करिअर उत्कृष्ट रहेको बताएका हुन् ।
कोहली फुटबलका ठूला फ्यान हुन् । भारतमा मात्र नभएर विश्व खेल जगतमा प्रेरणाको स्रोत नै मानिने कोहलीले स्टार फुटबलर रोनाल्डो विश्व खेल क्षेत्रमा सबैभन्दा उत्कृष्ट करिअर भएको बताएका हुन् । फिफा डटकमलाई अन्तर्वाता दिने क्रममा कोहलीले आफूलाई सर्वकालीन मन पर्ने खेलाडी रोनाल्डो भएको बताए ।
आफू रोनाल्डोका प्रत्येक खेल हेर्ने बताउँदै उनले भने, ‘मेरा लागि रोनाल्डो नै सबैभन्दा मन पर्ने खेलाडी हुन्,’ ३० वर्षीय स्टार क्रिकेटर कोहलीले भने, ‘उनको प्रतिबद्धता र नैतिक कार्य बेजोड छ । उनका सबै खेल हेर्दा उनी महान खेलाडी हुन् ।’
यसैगरी समान पाँच–पाँच पटकका बालोन डी‘ओर विजेता खेलाडी मेस्सी र रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने प्रश्नमा कोहलीले मेस्सीभन्दा रोनाल्डोको करिअर उत्कृष्ट भएको बताए । रोनाल्डोले धेरै चुनौतीको सफलतापूर्वक सामना गरिसकेको बताउँदै भने, ‘मेरो विचारमा रोनाल्डो धेरै चुनौतीको सफलतापूर्वक सामना गरिसकेका छन् । उनी सबैभन्दा पूर्ण खेलाडी हुन् । उनी सबैको प्रेरणाको स्रोत हुन् ।’
‘मैले उनको कार्य र नैतिक हेरेको छु, उनले भने, ‘मैले यहाँ उल्लेख गरेझैँ उनी उत्कृष्ट छन् । उनी एक नेतृत्त्वकर्ता हुन्, र मलाई त्यो मन पर्छ । पक्कै पनि उनको त्यो नेतृत्त्व गर्ने क्षमता मलाई मन पर्छ । उनी अविश्वसनीय छन् ।’
यस वर्ष इएसपीएनका विश्व फेम १०० मा स्थान बनाएका कोहलीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवास्टार किलियन एम्बाप्पे पनि यस वर्ष उत्कृष्ट फुटबलर बन्ने बताए । उनले भने, ‘एम्बाप्पे उच्चस्तरका खेलाडी हुन् । फ्रान्सलाई सन् २०१८ को विश्वकप जिताएका उनलाई भूल्न निकै गाह्रो छ ।’
कोहलीलाई आफ्ना मनपर्ने खेलाडीको नाम सोधिएको थियो । जसमा कोहलीले ब्राजिलियन स्टार खेलाडीद्वय रोनाल्डो र रोनाल्डिन्होका साथै लुका मोड्रिक, ओलिभर कन, आन्द्रेस इनिएस्टा, लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र जाभी हर्नान्डेजको नाम लिएका थिए । त्यसमध्ये सबैभन्दा मन पर्ने खेलाडीमा कोहलीले रोनाल्डोलाई छानेका थिए ।