साउन १५, काठमाडौं — गायक अर्जान पाण्डेको ‘घाँटी भन्दा तल त राम्री नै छे’ बोलको गीत विवादमा परेको छ । गीतले महिला माथि भद्धा मजाक गरेको भन्दै चर्को आलोचना खेपिरहेको छ ।
त्यसैगरी, सधैँ महिलाको हक र हितको वकालत गर्ने नायिका केकी अधिकारीले यो गीत आफ्नो फेसबुकमा सेयर गरे पश्चात आलोचित भएकी छन् ।
गीतमा महिलालाई वस्तुको रुपमा प्रयोग गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भईरहेको छ । यो गीतमा अर्जान पाण्डे र रीमा विश्वकर्माले फिचर्ड छन् ।
गायिका आस्था राउतले यो गीतको चर्को आलोचना गर्दै फेसबुकमा एक पछि अर्को स्टाटस लेखिरहेकी छिन् । उनले लेखेकी छिन, ‘केटी मान्छेको घाँटी भन्दा तलको गीत लेख्ने गाउनेले आफ्नै घाँटी भन्दा माथीको गिदी चेक गर्न जाओ ! गिदी छ कि लिदी छ ?’ उनले अर्को पोस्टमा लेखेकी छिन् ‘मानव अधिकार, महिलावादीको कुरा गर्ने कलाकार साथीहरु कुन दुलोमा छन् ।’
उता, हाँस्यकलाकार दीपकराज गिरीले व्यंग्य गर्दै लेख्छन् ‘गीत लेखेपछि पूरै लेख्या भए हुने‘ आज घाँटी भन्दा मुनि मात्रै आयो । भोलि नाइटो भन्दा मुनि मात्रै आउला त्यसपछि कम्मर‘ हैट !’