सभामुख महराद्धारा भोलि सर्वदलीय बैठक आह्वान

साउन १५, काठमाडौं —  सभामुख कृष्णबहादुर महराले संसदको अवरोध नहटेपछि बिहीबार दिउँसो १२ बजे सर्वदलीय बैठक बोलाएका छन् ।

कांग्रेस र राजपा अवरोधले संसद रोकिएपछि सिंहदरबारस्थित आफ्नो च्याम्बरमा पत्रकारहरूसँग कुरा गर्दै महराले सर्वदलीय बैठक आह्वान गरेको जानकारी दिएका हुन् । पटकपटक संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले अवरोध गरेपछि सभामुख महराले निकासको उपाय खोज्न सर्वदलीय बैठक बोलाएको जनाएका छन् ।

उनले भने, ‘भोलि १२ बजे सर्वदलीय बैठक बोलाएको छु। सदनमा भएको अवरोधमा मिल्नै नसक्ने विषय छैन। सत्तापक्ष र प्रतिपक्ष थोरै लचिलो भए मिल्छ’, साथै प्रधानमन्त्रीसँग पनि परामर्शमा गरिरहेको बताउदै त्यसैले भोलिको बैकठबाट केही निष्कर्ष निस्किन्छ कि भन्ने बिश्वास रहेको बताए ।

सभामुख महराले संसदमा रहेका सबै दलका नेताहरूसँग छलफल भइरहेको पनि जानकारी दिए । पटक पटक छलफलबाट पनि कांग्रेस र राजपा पछि नहट्दा संसदमा जटिलता बढेको छ ।